Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Tuesday, July 1, 2014

जारी बिश्वकपको प्रिक्वाटर फाईनल खेलहरु

  ब्राजिल विश्वकपको समूह चरण सकिएसँगै प्रिक्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । प्रिक्वार्टरफाइनलको पहिलो खेलमा आयोजक ब्राजिलले चिलीको सामना गर्दैछ । पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह ‘ए’ को विजेता हो ।
त्यसैगरी अहिलेसम्म उपाधिको स्वाद लिन नपाएको चिली समूह ‘बी’
को उपविजेता हो । युवा खेलाडी नेमारको चमत्कारले टिकेको ब्राजिलले घरेलु मैदानको फाइदा उठाउने छ । खेल शनिबार राति पौने १० बजे हुनेछ ।
त्यसैगरी आइतबार बिहान पौने २ बजे कोलम्बिया र उरुग्वे भिड्दै छन् । कोलम्बिया समूह ‘सी’ को विजेता हो भने उरुग्वे समूह डी को उपविजेता हो । अहिलेसम्म विश्वकपमा त्यस्तो चमत्कार देखाउन नसकेको कोलम्बिया यसपटक सत्प्रतिशत नतिजा निकाल्दै अगाडि बढेको छ । दुई पटकको विश्वकप विजेता उरुग्वेले गु्रप अफ डेथ पार गर्दै नक आउट चरणमा ठाउँ बनाएको हो ।
आइतबार राति पौने १० बजे समूह ‘बी’ को विजेता नेदरल्याण्ड्सको भिडन्त समूह ‘ए’ को उपविजेता मेक्सिकोसँग हुनेछ । साविक विश्वकप विजेता स्पेन समूह चरणबाटै बाहिरिएपछि उपविजेता नेदरल्याण्ड्स प्रमुख दावेदारमा उभिएको छ । मेक्सिकोले अर्को उपाधि दावेदार आयोजक ब्राजिलसँग सशक्त खेलेसंगै अझै अगाडि बढ्न सक्ने आशालाई जिवित पारेको छ ।
सोमबार बिहान पौने २ बजे कोष्टारिका र ग्रीस भिड्दै छन् । समूह डी बाट अपराजित रहेर शीर्ष स्थानमा रहँदै कोष्टारिकाले नक आउट चरणमा ठाउँ बनाएको हो । अप्रत्याशित परिणाम ल्याएको कोष्टारिकाले पूर्व विजेताहरु ईटाली र उरुग्वेलाई हराउँदा इङ्गल्याण्डसँग बराबरी गरेको थियो ।
इतिहासको हिसाबले जारी विश्वकपकै सर्वाधिक सफल टिम मानिएको कोष्टारिका ग्रीसमाथिसमेत हावी हुने अनुमान फुटबल पण्डितहरुको छ । समूह ‘सी’ को उपविजेता ग्रीसले खासै उल्लेखनीय खेल प्रस्तुत गर्न नसके पनि एक जित, एक बराबरी र एक पराजय भोगेको थियो ।
सोमबार राति पौने १० बजे फ्रान्स र नाइजेरिया भिड्दै छन् । फ्रान्स समूह ईको विजेता हो भने नाइजेरिया समूह एफ्को उपविजेता हो । फ्रान्सको समूहमा उल्लेखनीय प्रदर्शन गर्ने टिम नहुँदा दुई जित र एक बराबरीका साथ समूह विजेता बनेको हो ।
नाइजेरियाले संयमित खेल खेलिरहँदा स्टार खेलाडीहरुले भरिएको फ्रान्सलाई टाउको दुखाई हुनसक्छ । तर विश्वकपको इतिहास हेर्ने हो भने पूर्व विजेता फ्रान्स बलियो मानिन्छ । मंगलबार बिहान पौने २ बजे जर्मनी र अल्जेरिया भिड्ने छ ।
तीन पटकको विश्वकप विजेता जर्मनी समूह जीको विजेता हो भने विश्वकपमा खासै प्रभाव जमाउन नसकेको अल्जेरिया समूह एच्को उपविजेता हो । स्टारहरुले भरिएको उपाधि दावेदार जर्मनी यो खेलमा हावी हुनसक्ने अनुमान गरिएको छ । जर्मनीका लागि कीर्तिमान रच्न आतुर दुई खेलाडी मूख्य निशानामा छन् ।
मिरोस्लाभ क्लोजले एक गोलमात्र गर्न सके सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा आफूलाई पार्नेछन् । त्यसैगरी जारी विश्वकपको पहिलो ह्याट्रिक गर्न सफल थोमस मुलर पनि धेरै गोल गर्ने खेलाडीको दावेदारी दिन चाहन्छन् ।
मंगलबार राति पौने १० बजे अर्जेन्टिनाले स्वीट्जरल्याण्डको सामना गर्दैछ । समूह एफ्को विजेता बन्ने क्रममा अर्जेन्टिनाले सत्प्रतिशत नतिजा निकालेको छ । समूहमा खासै कडा टक्कर दिने टिम नहुँदासमेत खुलेर खेल्न नसकेको अर्जेन्टिनाका लागि लिओनल मेसीमात्र त्यस्ता खेलाडी बनेका छन् जसले हरेक खेलमा गोल गरेका छन् ।
समूहका तीन खेलमा चार गोल गरिसकेका मेसीकै भरोसामा टिकेको पूर्व विजेता अर्जेन्टिना समूह ई को उपविजेता स्वीट्जरल्याण्ड सामु हावी हुने देखिएको छ । तर समूहका इक्वेडर र होन्डुरसमाथि उत्कृष्ट प्रदर्शन गरेको स्वीट्जरल्याण्ड पनि सहजै अर्जेन्टिनालाई खेल सुम्पने पक्षमा देखिएको छैन ।
बुधबार बिहान पौने २ बजेको अन्तिम प्रिक्वार्टरफाइनलमा समूह एचको विजेता बेल्जियम र समूह ‘जी’ को उपविजेता अमेरिका भिड्ने छन् । समूह चरणमा सत्प्रतिशत नतिजा निकालेको बेल्जियमले उत्कृष्ट खेल पस्किन सकेको छैन ।
तीन खेलमा चार गोल गरेको बेल्जियमले एक गोलमात्र खाएकाले पनि समूह चरणमा गोल गर र रोक भन्ने रणनीति बनाएको हुनसक्छ । अमेरिका पनि अनुभवी घानालाई हराउँदा पोर्चुगलसंग बराबरी गरेको टिम भएकाले प्रिक्वार्टरफाइनल भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।




No comments:

Post a Comment

Popular Posts