Welcome  everyone Namaste My blog praveen hirachan Nepal Japan

Wednesday, June 11, 2014

यसपालिको बिश्वकप फुटबलमा बेल्जियमले अप्रत्यासित नतिजा निकाल्न सक्ने प्रबल सम्भावना

  
सन् २००२ पछि पहिलोपटक विश्वकपमा छानिएको टोली हो, बेल्जियम। तर यतिबेला बेल्जियमको चर्चा उपाधि जित्न सक्ने टोलीका रूपमा भइरहेको छ। युरोपका ठूला क्लबमा स्थापित भइसकेका खेलाडीहरूको वर्चस्व हुनु टोलीको उल्लेखनीय पक्ष हो। अझ पछिल्लो समय क्लबले हात पारेका सफलतामा बेल्जियमकै खेलाडीहरू राम्रो प्रदर्शन गरेका थिए। यसै सिजन एटलेटिको म्याड्रिडले युरोपियन च्याम्पियन्स लिग जित्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका गोलरक्षक थिबट कुर्तौइसदेखि इङलिस क्लब म्यानचेस्टर युनाइटेडमा चम्किरहेका स्ट्राइकर अदनान जानुजाज बेल्जियम टिमका सदस्य हुन्। समूह 'एच'मा रहेको बेल्जियमले रूस, दक्षिण कोरिया र अल्जेरियाको सामना गर्नेछ। टोलीका चर्चित अनुहारमा भिन्सेन्ट कोम्पनी, मारौन फेलानी, इडेन हाजार्ड र रोमेलु लुकाकु छन्। हरेक पक्ष सन्तुलित देखिएको टिममा युवा खेलाडीकै प्रभाव छ।
हाल फिफा वरीयताक्रममा ११ औं स्थानमा रहेको बेल्जियमले अन्तिमपटक विश्वकप खेल्दा प्रिक्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो। सन् १९८६ को विश्वकप संस्करणमा बेल्जियम सेमिफाइनलसम्म पुगेको थियो। बेल्जियमले यतिबेला चर्चा योग्य प्रदर्शन गरिरहेको छ। महादेशीय छनोटमा १० खेलमा २६ अंक जोडेर बेल्जियम समूह विजेता बनेको थियो। केभिन डे ब्रुनले चार गोल गरेका थिए। बेल्जियमले पछिल्ला नौ खेलमा चार जित, तीन बराबरी र दुई हारको नतिजा सामना गरेको छ। विश्वकपको पूर्वसन्ध्यामा खेलिएका दुवै अभ्यास खेलमा बेल्जियमले ट्युनिसिया र स्विडेनलाई पराजित गर्यो। गत नोभेम्बरमा जापानसँग पराजित भएयता हार ब्यहोरेको छैन।
बेल्जियमजस्तै दुई संस्करणपछि विश्वकपमा छानिएको टोली हो, रूस। समग्रमा तेस्रोपटक विश्वकप खेल्न लागेको रूस सन् २०१८ को विश्वकप आयोजक भएकाले पनि यसपटक यो टोलीलाई केही दबाब छ। कम परिचित अनुहार भए पनि ठूला प्रतियोगिताको अनुभव बोकेको खेलाडी टोलीमा हुनु यसको बलियो पक्ष हो। पछिल्लो समय रूसको प्रदर्शन स्तरीय पनि छ। पोर्चुगल, स्विडेन, फ्रान्स जस्ता टोलीले विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्दा रूस भने १० खेलमा २२ अंक जोडेर समूह विजेता बनेको थियो। महादेशीय छनोटमा अलेक्जान्द्र कोकोरिनले चार गोल गरेका थिए। रूस पछिल्ला १० खेलमा अपराजित छ। यसबीचमा उसले सात जित र तीन बराबरीको नतिजा निकाल्यो। रूस अन्तिम पटक गत अगस्तमा नर्दन आयरल्यान्डसँग पराजित भएको थियो। हाल फिफा वरीयताक्रममा १८ औं स्थानमा रहेको रूसले विश्वकपमा समूह चरण पार गर्न सकेको छैन। पछिल्लो प्रदर्शन र समूहका प्रतिद्वन्द्वी हेर्दा रूस यसपटक समूह चरण पार गर्ने टोली देखिएको छ। अनुभवी खेलाडी अलेक्जान्द्र कर्जाकोभले राष्ट्रिय टिमका लागि ८१ खेल खेल्दै २५ गोल गरेका छन्। कोकोरिनले २२ खेलमा पाँच गोल गरेका छन्।
विश्वकपमा राम्रो इतिहास बोकेको एसियाली टोली दक्षिण कोरिया यसपटक भने कमजोर देखिएको छ। महादेशीय छनोटदेखि उसले गरेको प्रदर्शन हेर्ने हो भने सन् २००२ को सेमिफाइनलिस्टलाई यसपटक समूहगत चरण पार गर्न गाह्रो छ। दक्षिण कोरियाले पछिल्ला नौ खेलमा सात हारको नतिजा निकालेको छ। गत सेप्टेम्बरयता क्रोएसिया, ब्राजिल, रूस, मेक्सिको, अमेरिका, ट्युनिसिया र घानासँग दक्षिण कोरियाले पराजय भोगेको छ। भर्खरै सम्पन्न दुईवटा अभ्यास खेलमा दक्षिण कोरिया, ट्युनिसियासँग १-० र घानासँग ४-० गोलले पराजित भयो। महादेशीय छनोटअन्तर्गत दक्षिण कोरिया तेस्रो चरणमा ६ खेलमा १३ अंक जोडेर समूह विजेता बनेको थियो।
चौथो चरणमा आठ खेलमा १४ अंक जोडेको दक्षिण कोरियाले समान अंक भएको उज्वेकिस्तानलाई गोल अन्तरमा पछाडि पारी समूहको उपविजेताका रूपमा विश्वकप यात्रा तय गरेको थियो। छनोटमा पार्क चु यङले ६ गोल गरेका थिए। राष्ट्रिय टिमका लागि यङले हालसम्म २४ गोल गरेका छन्। त्यसैगरी लि कुन होले ६३ खेलमा १८ गोल, कु जा चेओलले ३७ खेलमा १२ गोल गरेका छन्। अनुभवी खेलाडी पार्क जी सुङले संन्यास लिएका कारण उनको अभाव टोलीलाई खड्कने निश्चित छ। हाल फिफा वरीयताक्रममा ५५ औं स्थानमा रहेको दक्षिण कोरिया सन् २०१० को विश्वकप संस्करणमा प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो।
केही युरोपमा जन्मिएका खेलाडी सामेल अल्जेरिया विश्वकपमा अहिलेसम्म पहिलो चरण पार गर्न सकेको छैन। टिममा ठूला टिमहरू नरहनु अल्जेरियालाई यसपटक दोस्रो चरण पुग्ने राम्रो अवसर हुन सक्छ। तरैपनि बेल्जियम र रूसको उच्च लय नै अल्जेरियालाई गाह्रो बनाउन पर्याप्त छ। अल्जेरियाले पछिल्ला सात खेलमा चार जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ। गत अक्टोबरमा बुर्किना फासोसँग ३-२ गोलले पराजित भएयता यस अफ्रिकी टोलीले हार ब्यहोरेको छैन। भर्खरै भएका अभ्यास खेलमा रोमानिया र आर्मेनियालाई हराएर अल्जेरियाले आत्मविश्वास पनि बलियो बनाएको छ। हाल फिफा वरीयताक्रममा २२ औं स्थानमा रहेको अल्जेरिया लगातार दोस्रोपटक विश्वकपमा छानिएको हो।
अल्जेरियाले सन् १९८६ पछि पहिलोपटक चार वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। यसपटक छनोट हुन पनि अल्जेरियालाई सजिलो भने भएन। महादेशीय छनोटअन्तर्गत दोस्रो चरणमा ६ खेलमा १५ अंक जोडेर समूह विजेता बनेको अल्जेरियाले प्ले अफमा बुर्किना फासोलाई अवे गोल आधारमा हराएको थियो। पहिलो लेग ३-२ ले हारेको अल्जेरिया घरेलु मैदानमा भएको दोस्रो लेगमा १-० गोलले विजयी भएको थियो। छनोटमा इस्लाम स्लिामानीले पाँच र सोफियान फिघौली एल अर्बी हिलेल सौडानीले तीन तीन गोल गरेका थिए। राष्ट्रिय टिमका लागि सौडानीले २२ खेलमा ११ गोल गरेका छन्।-एजेन्सी




No comments:

Post a Comment

Popular Posts